एक मूडुलो रचना


 

जीवन साधारणपनाको पर्यावाची हो | सत्य भनेको आफुले जानेसम्म कुरा हो | सत्य विकसित हुँदै जाने, बदलिरहने कुरा हो | मानिस एउटा सिद्धान्त बनाउँदै यही सिद्धान्तमा बिलिन हुँदोरहेछ |  जसरी बुद्धले मूर्ति पूजा गर्नु पर्दैन भनेका थिए तर आफै मूर्तिमा परिवर्तन भए त्यसरिनै  समयले मानिसलाई डोर्याउदै  जाने रहेछ |   यसो भैदिएको भए,  यस्तो नभइदिएको  भए जस्ता अमूर्त शब्दले पनि जीवित प्राणीलाई छुँदो रहेछ | शब्द जस्तो जीवन नभएको कुराले पनि मानिसलाई कि त जीवित बनाउँछ कि त मुर्छित बनाउँछ,  कति शक्ति | शब्दले जति बयान गरेपनि  शून्यतामा नै म जीवनको ऐना  देख्छु | विभिन्न  कालचक्र, जलचक्र,  जीवन ः मरण, सूर्य, चन्द्रमा, पृथ्वी, सबै  शून्य जस्तो गोलो   देखिने भएकाले शून्यताको मर्मअझै दर्शाएको जस्तो लाग्छ | यति भनिरहँदा मानिसले मलाई निराशावादी पनि सोचिरहेका होलान् | तर त्यो सोचमा  पनि शून्यता  बाहेक केहि देख्दिन म | जसरी शुन्यले एउटा अंकलाई विशाल बनाउँछ त्यसरिनै जीवनको मूल्याङ्कनलाई पनि धेरै तनक़याइएको जस्तो लाग्छ | जीवनमा सबैभन्दा खुसी कहिले रहन्छ मानिस ? बच्चा जन्मिदा ? सफलता पाउँदा ? चाहेजस्तो जीवनशैली पाउँदा ? तर मानिसले जीवनको अनुभूति तब मात्र पाउँछ कि जब उसले शुन्य मान्छ,  समयको शुन्यतामै  रमाउँछ | एक मिनेटअगाडीको विगतमा हैन  एक मिनेट पछीको भविष्यमा होइन |  समय सुरुभएको  बिन्दुमा हो,अहिले ठ्याक्कै |  अङ्क   शुन्यको आविष्कार गर्न मानिसलाई धेरै समय लाग्यो र जिन्दगीको मूल्यांकन  शुन्य भनेर किटान गर्न मलाई बीस बर्ष | हुन त कसैलाई सम्झाए आफुलाई ठुलो ठान्ने र  स्वयंलाई सम्झाउन नसक्नेको वर्चस्व त छँदैछ |  हास्यास्पद मलाई के  लाग्छ भने अठार  उन्नाईसभन्दै बढिरहेको बेला एक्कासी शून्य  झरेर बीस बन्न पर्यो | हुनतः परीक्षामा राम्रो  अङ्क आबश्यक भनेर शून्य लाई नकार्ने  म तर  व्यापार गर्दा अङ्क पछाडि कती वोटा  शुन्य छ भन्ने जीवनमा  बाँचिरहेको शुन्य  महत्तो कतै छ त कतै पत्तै छैन | 

सम्पूर्ण अंकलाई सार्थकता दिने  शुन्य  छ नत्र त संख्या एक  देखि नौ मै टुंगिन्छ |   शुन्यको आकार जस्तै  जीवन पनि कहिले माथि त कहिले तल तर सधैं  घुमिरहेकोरहिरहेको हुन्छ, निरन्तर,एकनास  नटुंगिने यात्रा | मानिसको जीवन सोचेजस्तो स्थिर छैन | यसको परिधिमा बाँच्ने र परिमाणबारे सोचिरहने  कहिले मनभित्रको स्थिरतालाई राख्ने सकेनौ | परिधिभित्र बाँच्नेका लागि यो दृश्य रुपमा केही नदेखिने ठाउँ हो वास्तविक खोक्रो देख्ने ठाउँ तर जीवन बुझ्नेहरुलाई यो ज्ञान सागर हो | एकनाश भएकाले मलाई यो सत्य लाग्छ आँखाको नानी जस्तै |  खुशी नाप्ने अङ्क पनि हुन्छ रे तर शून्यबाट थोरै समय जाँदा मानिसपिछे खुसिकै अर्थ फरक हुने मानिसको परिभाषा पनि के पत्याउनु ?  खुसीको अर्थ फरक भइदि मानिसको भाषा नै वास्तवमा खुकुलो ज्ञान  हो |  आखिर तर्क र खण्डन गर्नु पनि  केका लागि, सत्य भनेको आफुले जानेसम्मको  कुरा  न हो |  सत्यको  पनि मापदण्ड नै   किन गर्नु ?  मानिस असन्तुष्ट नै  हुने हो भने ? असन्तुष्ट  नहुने हो भने  किन विभिन्न  अर्थ अनुसार  ज्ञानलाई शिरोपर गरियो, मन्थन गरियो | ज्ञानलाई अर्थको गहिराइमा  लादाअर्थ नै के रह्यो र? तपाईँको जिन्दगीको गहिराइमा स्वर छ कि शून्यता, मलाई केही थाहा भएन तर कुनै दिन सम्भव भए चुनेको शून्य  रेखाको परिधिबाट पक्कै  हेर्नेछु | 

शून्यलाई मानिस तिरस्कृत गर्छन्,  नैराश्यता असफलताको रुपमा लिन्छन्  तर तिरस्कार  गर्नु नै किन ? मानिसको जीवनमा सफलताको उत्तरचढाव  शून्यमा मापन गरिने भएको भए सायद यो पनि मायामा परिणत भई यसको मूल्यांकन  बढ्ने थियो |  शून्यको रुपलाई हेर्दा  जीवनचक्रझै सुरुवात  पनि यहीं हो र समाप्ति  |  शून्य  आफैमा पनि पूर्ण छ | अनि कुनै अंकको  सामिप्यतामा बस्दा पनि ती अंकलाई  पूर्णता दिन्छ | यो एक प्रेरणदायी जीवनको अैना हो | अरुले साथ छोडे पनि आफूलाई  नछोड्ने साथको  प्रतिक हो | आज भएन भोलि सुख होला, गाउँमा भएन सहरमा होला, शहरमा भएन विदेशमा होला, विदेशमा भएन फेरि गाउँ होला, भनी दुखलाई विर्सेर सुखको लागि अरु अङ्क जस्तो भौतारी रहने जिवन शुन्यताको विन्दुमा रमाउन नसक्ने मानिसले खुसी को परिभाषानै गलत बूझिरहेको पो छ कि ? 

आखिर दुखलाई किन बिर्सन खोज्छ मानिस ?  जीवनको गति मद्धेको एक भाग चूड़ाएर आदि अचकलटो भागमा किन रमाउन खोजेको होला मानिस?  सुखको उकालो लागेको भाग मात्र राखेर एक ओरालो भाग चुडयाएदिए के  शून्य,  शून्यनै रहला त ?