Tyo rang

 
 

धेरै दिनपछि आज एैना अगाडी उभिने साहस जुटाएको छु

“ महिलाले सहनुपर्छ”, “नारीको कर्म यही हो” भनेको आवाज सुन्दै छु

छेउको भित्तेपात्रो हेर्दा देखे विवाहको एक साल पुगेछ

आमाबुवाले त्यो खैरो रंग तेरो घर, यो रातो रंग अबदेखि तेरो भनेको दिन 

 

याद छ मलाई त्यो कालो दिन जहिले मेरो निर्णय नसोधि चुनिएको थियो भावी रंग

कोरोनाले कामठप्प भएर धान्न सक्दिन भनेर पठाईएको दिन

कहिले घाउचोट नलागेको शरीरमा घाउचोट बाहेक केही नदेखिने बनाईएको दिन

त्यो रातो रंग जस्ले मलाई ‘मौनता’ सिकायो र श्रीमानलाई पिट्ने अधिकार दिएको दिन 

 

लक्डाउनसँगै श्रीमानको जागिर ठप्प भयो, अनि ज्यादती र मनको कुंठा सलबलाऊन थाले

मेरो रंग भनेर रातो सिन्दूर लगाउन मात्र के खोजेको थिए

दुख्यो पाखुराको निलडाम अनि निधार र हातका नीला रंग

रिसमा फटाईदिएका चुराको घाउ, कपाल र कपडा लुछ्दा चुडीएका पोतेहरू 

 

भो मलाई ‘रातो’ रंग लगाऊनै मन लागेन, मन नै मरेर आयो

‘रातो’ रंग मेरो रंग रहेनछ, आमा ! मेरो रंग ‘नीलो’ रहेछ

पहिलोचोटीको थप्पड हान्दा पाट्टपुट्ट दुर्घटनाबस जस्तो लागेको थियो

माफी माग्नुभयो, मन पग्लियो तर त्यो त्यहाँ नरोकिने रहेछ आमा 

 

सधै राति रक्सी खाएर जागिर चट् भएको, दाईजो नपाएको भन्दै

एकदिन परस्त्रीको मेसेज देखेपछि, ‘’को हो ?’’ भन्दा  बेल्टले पिट्नु भयो

सासूससुराले समेत सानो गल्ती सुनाएर श्रीमानलाई पिटाउन लगाउनु भयो

कटुबचन सुन्नु, निल्डाम शरीरमा हुनु, भित्तामा निधार ठोकिदिने जस्ता घटना दैनिकी बन्न थाल्यो 

 

हरेक शारीरिक सम्बन्ध मलाई बलात्कारनै लाग्यो, मेरो मंजुरी कहिले सोधिएन

यही क्रममा एउटा छोरी जन्मिई, छोरो पाउन सकिन अल्छिनीले भन्दै अस्पतालमै पिट्नु भयो

कोरोनाको डरले गर्दा कोही छुट्टयाउन पनि आएनन्, सबले टुलुटुलु हेरि रहे

पछि छोरीले ‘बुवाले परिवारलाई सुरक्षित राख्नु  हुन्छ’ भनेर पढ्दा मन चस्स भयो

 

म पछिका चार भाईबैनीलाई हिड्न, जिउन सिकाउने म

आज किन आफ्नो जिंदगी आफ्नो मुट्ठीमा लिन सकिन, उठेका हात रोक्न सकिन ?

कोहीसंग नडराउने म आखिर किन एउटा साधारण मानिससंग हारे ?

यो ‘रातो’ सौभाग्य दिएर ‘नीलो’ शरीर बनाउने घर बाहिर किन एक कदम उठाउनै सकिन ?

 

घरबाहिर महामारीले सुरक्षित छैन भंछन, नारी त घरमै सुरक्षित छैनन् 

घर बाहिर भागी कहाँ जाऊँ, कोरोनाको झन् त्यसभंदा डरलाग्दो समाजको डर छ

जुन समाजले मेरो बेदनाको पर्वाहनै गर्दैन, त्यो समाजको किन पर्वाह गरिरहेको छु म ?

प्रहरीसमक्ष आफ्नो श्रीमान् ‘अपराधी’ हो भन्ने आँट सिन्दूरले दिएन, छोरीको अनुहारले झन् दिदैदिएन 

 

“कोरोनाको भ्याकसिन’’ आउला तर विषाक्त पुरुषत्व संक्रमित दिमागको भ्याकसिन कहिले आउला ?

महामारीको पिडामा अस्तब्यस्त भएको बेला मेरो कथाको आवाज एक छाँयानै बनेर गयो

शरीरका ‘निल्डाम’ सायद एैनामा देखिए तर मनका अनेक आला घाउ कहिले देखिएनन् 

धेरै रंगले मलाई अन्जानमै समाइसकेछन्, एक दिन मेरो आवाजले न्याय पाए,

 

 पक्कै म  ईन्द्रेनी बन्ने छु

नारीको जीवन पनि ईन्द्रेनी बन्ने थियो ।