राजयोग लिएर जन्मनु भा'छ कि?

"हैन हौ, फलानाको त चिना मै बलिया ग्रह छन् रे! ढिस्कानो त राजयोग लिएर पो जन्मेको र'छ त गाँठे! अनि त त्यस्तो नाम, दाम अनि इनाम कमाएको छ",गाँउघराँ प्राय यस्तै किसिमका तर्क राखेको सुनिन्छ। वास्तवमा नि कुनै न कुनै कोणबाट ग्रहदशा इत्यादिले हाम्रो जीवनमा प्रभाव पारिरहेका हुन्छन्। अब यस विषयमा तर्क/वितर्क गर्न लागो भने कुतर्क बाहेक केही हात लाग्ने वाला छैन! बरु वैदिक ज्योतिष शास्त्रमा व्याख्या गरिएका केही विशिष्ट राजयोगहरुको बारेमा जानौँ अनि आफ्नो कुण्डलिमा नि यी राजयोग छन् कि आफैँ हेर्न नि सिकौं न।

यसका लागि पहिला तपाईंले "हाम्रो पात्रो", "नेपाली पात्रो" अथवा "Astrosage" नाम गरेका एप्लिकेसनमा "कुण्डलि" भन्ने अप्सन आउँछ त्यहाँ गएर  मागिएका बर्थ डिटेल्स, आफ्नो जन्म समय, जन्मेको शहर अनि गते, महिना अनि वर्ष राख्नुस। तपाईंको स्क्रीनमा तल देखाइए जस्तो आकृति आउँछ।

यसलाई जन्म कुण्डली भनिन्छ। यस्मा बाह्रवटा भाव(कोठा/घर) देख्न सक्नुहुन्छ, हरेक घरमा एउटा मसिनो अङ्क देख्न सक्नु हुन्छ। तिनिहरु राशिहरु हुन् जो मेष(१ अङ्क) बाट क्रमअनुसार मीन(१२ अङ्क) मा टुङ्गिन्छ। तपाइँकोमा माथि जस्तै उस्तै अङ्कको क्रम हुनुपर्छ भन्ने छैन, सबैको फरक फरक हुन्छ। अब जानौं ग्रहहरुको शर्ट फर्म- सूर्य(सू), चन्द्र(च), मंगल(मं), बुध(बु), बृहस्पति(वृ), शुक्र(शु), शनि(श), राहु(रा) अनि केतु(के)। 
अब योग भनेको के हो? एकदमै सरल भाषामा तपाईंको कुण्डलिमा दुइ वा बढि ग्रह सगैँ एउटै कोठामा बस्दा त्यो अवस्थालाई योग भनिन्छ। उदाहरणको लागि एउटै कोठामा "शु अनि मं" लेखेको छ भने भने यो शुक्र र मंगलको योग कहलिन्छ। यो कुरो तपाईँ आफै बहुत सजिलै हेर्न सक्नुहुन्छ। अनि वैदिक ज्योतिष शास्त्रमा निश्चित ग्रहहरु यदि सगैँ छन भने त्यसको प्रभावले जातकलाई विशिष्ट  फल दिन्छन् भन्ने उल्लेख छ र यिनै निश्चित योगमध्ये बहुतै उच्चस्तरीय फल प्रदान गर्ने योगहरुलाई राजयोग भनिन्छ। आउनुस अब म केही विशिष्ट राजयोगहरु बारे बताउँछु, तपाईंहरु आफ्नो कुण्डलीका सबै कोठा हेर्नुस् र त्यहाँ माथी भने जस्तै ग्रहहरुको नाम  शर्ट फर्ममा लेखिएका हुन्छन्, मजाले नियालेर आफ्नो कुण्डलिमा राजयोग छ या छैन थाहा पाउनुस्।

.गजकेशरी योग: कुनै भावमा(कोठामा) बृहस्पतिदेव र चन्द्रदेवको युति अर्थात "वृ अनि चं" सगैँ एउटा कोठामा देख्नु भयो भने यस्लाई गजकेशरी राजयोग भनिन्छ। सबैका प्यारा राजा बिरेन्द्रको कुण्डलिमा नि यो राजयोग थियो। यो योगमा जन्मेका व्यक्तिहरु जीवनमा अखण्ड यश, किर्ती, मान सम्मान, धनधान्यले सुसम्पन्न हुन्छन्। जसरी एउटै सिंह(केशरी)ले एक्लै बडेमानका हात्ति(गज)को झुण्डलाई लखेट्न सक्दछ त्यस्तै प्रतापी अनि प्रभावशाली हुन्छ्न् यस्ता व्यक्ती।

२.बुध आदित्य योग: ग्रहराज सूर्यदेव अनि बुधदेवको युति अर्थात "सू अनि बु" सगैँ एउटा कोठामा देख्नु भयो भने यस्लाई बुध-आदित्य राजयोग भनिन्छ। पुर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, बलिउडका बिग.बी. अम्हिताब बच्चन, अमेरिकाका पूर्व राष्ट्रपति अब्राहम लिङ्कन, खरबपती जेफ बेजोस् जस्ता महान् हस्तिहरु बुध-आदित्य योगमा जन्मिएका व्यक्ति हुन। अनुहारमा सूर्यको जस्तो तेजभएका अति तेजस्वी, वाक्पटु, विद्वान, ख्यातिप्राप्त र वैभवशाली हुन्छन् यस्ता व्यक्तिहरु।

३.लक्ष्मी-विष्णु योग: अति शुभ मानिने शुक्रदेव र बुधदेवको युति अर्थात "शु अनि बु" सगैँ एउटा कोठामा देख्नु भयो भने यस्लाई लक्ष्मी-विष्णु राजयोग भनिन्छ। सारै दुर्लभ मानिने यो योग लिएर जन्मिएका व्यक्ती धनकूबेर समान महाधनी अनि वैभवशाली हुन्छ्न्। भौतिक सुख भोग बङ्लो, गाडी, सोना चाँदी  इत्यादिले सुसम्पन्न हुन्छन् यस्ता व्यक्ति।

४.नीच भङ्ग राजयोग: यस योगलाई बुझ्न अलिक कसरत पर्ला पाठक वर्गहरुलाई। यदि कुनै ग्रह आफ्नो नीच राशिमा बसेको छ तर त्यसै कोठामा अर्को ग्रह जो चाहिँ त्यही राशिमा(जुनमा अघिल्लो चाहिँ नीचको हुन्छ) उच्चको हुन्छ भने यस्तो युतिलाई नीच भङ्ग राजयोग भनिन्छ। यसका निम्ति भने मैले तल उल्लेख गरे बमोजिम नै ग्रहहरु अस्वथित हुनुपर्छ तपाईंको कुण्डलिमा।यसका धेरै किसिम हुन्छन् र यी कुनैमध्य एक भए नि राजयोग मानिन्छ।
क. शनि र सूर्य(श र सू) एउटै कोठामा हुनु परो र अझै त्यो कोठाको अङ्क १ या ७ हुनु परो।
ख. बुध र शुक्र(बु र शु) एउटै कोठामा हुनु परो र अझै त्यो कोठाको अङ्क ६ या १२ हुनु परो।
ग.बृहस्पति र मंगल(बृ र मं) एउटै कोठामा हुनु परो र अझै त्यो कोठाको अङ्क १० या ४ हुनु परो।
विश्वविख्यात खरबपती बील गेट्स, बाराक ओबामा नीच भङ्ग राजयोग लिएर जन्मेका हुन्। यस्ता व्यक्ती जिरोबाट सुरु गरेर हिरो बन्दछन् अथवा रङ्कले भोग्ने कष्ट भोगेर राज राजेश्वर बन्दछन् अनि अक्ष्य्य किर्ती हासिल गर्दछन्।

५.चन्द्र-मंगल योग: चन्द्रदेव र मंगलदेवको  युति अर्थात "चं अनि मं" सगैँ एउटा कोठामा देख्नु भयो भने यस्लाई चन्द्र-मंगल राजयोग अथवा महाभाग्य योग नि भनिन्छ। नायिका एन्जोलिना जोलि जस्ति हस्ति यो राजयोग लिएर जन्मिएकी छ्न्। उच्च मनोबल र आत्मबल भएका यस्ता व्यक्ती नि धनकूबेर समान वैभवशाली हुन्छन्  भने अखण्ड नाम र इमान नि कमाउछन्।प्राय सी.ई.ओ र उच्च ओहदाका प्रशासनिक व्यक्तिहरुमा यो योग पाईन्छ।

अब प्रश्न उठ्नु स्वभाविक होकि माथी उल्लेखित राजयोगी व्यक्तित्व जन्मदा ठ्याक्कै त्यही समय अरु नि जन्मेका थिए होलान् ,हो पक्कै थिए तर उनीहरु किन उत्तिकै वैभवशाली भएनन् त? मैले हिसाब लाउँदा बाराक ओबामाजस्तै ठ्याक्कै कुण्डली भएका लगभग २७८ जना होलान्  तर उनिहरुको त अत्तोपत्तो छैन! यसमा "कर्मको सिद्धान्त" ले बडो महत्त्वपूर्ण  भूमिका खेल्दछ। यसबारे फेरि अवश्य बताउने छु।  यति सम्मकी गजकेशरी योगकै यति भेरिएसन हुन्छन् ,सबै बारे बखान गर्न त असम्भव हुन्छ। अर्को कुरो राजयोग लिएर नजन्मेका व्यक्ति सफल हुन्नन? १६ आना हुन्छन् ! त्यसमा दुईमत छैन र कोहि राजयोगी पनि घोर कष्टमा हुन्छ्न् किन त? यसमा धेरै अरु ज्योतिषीय कारकहरुको भूमिका रहन्छ। अन्त्यमा माथी उल्लेखित योगहरु त हजारौँ योगमध्यका केवल साना दृष्टान्त मात्र हुन्, ज्योतिष शास्त्र महासागर समान छ यसलाई कहिल्यै बुझेर बुझ्न सकिँदैन, केवल सिक्दै लान मात्र सकिन्छ।