श्री चाप्लुसी रहस्यम्

यत्ती लामो जिब्रो झिकेर,लेघ्रो तान्दै ,अलि नरम,कमलो बोलिले "ज्यू हजुरी" लगाउँदै अगाडिको पात्रलाई मुखै खिर्‍याउने मीठा शब्द जालमा लट्पट्याएर, मेरा नाता, मेरा गोता भन्दा तपाईं माथी,अहो मेरा सरकार,मेरा प्रभु!तपाईं त यस्तो,तपाईं त उस्तो अहो! अहो! भनी टोपल्दै ती पात्रलाई आफू नजिकको शुभेच्छुक हुँ दर्शाउँदै फाइदा धुत्ने मनसुवा गर्नु चाप्लुसी साधकका लक्षण हुन!अझ अचम्म र उदेक लाग्ने कुरो के छ भने यो चाप्लुसि विद्याका प्रकाण्ड विद्वान भनाउँदालाई समेत यो विद्याको उत्पतिको बारे थाहापत्तो छैन। तर मेरा प्यरा,ज्ञानि अनि सभ्य पाठकज्यूहरु, हजुरलाई आज म त्यो उत्पत्तिको रहस्य बताउँछु है पढिबक्सिस्योस्!

यो हाम्रा जिजुबराजै वनमान्छेले भर्खरै बोल्न सिकेका बखतको कुरो हो। थुतुनो अलिक बडेमानका भका हाम्रा पू्र्खाको बोली सुन्नमा सोमरसले तृप्त पात्रको श्रीमूखबाट निस्केको वाणी जस्तै  ठ्याक्कै,फरक नखाने! वनमान्छेका नि त्यसबखत महाराजधिराज हुँदा रछन्! ती महाराधिराजको विशाल बगैंचा र'छ। बगैंचामा नानाथरिका तुलफुल हुने, अनि एउटा चाहिँ अति दूर्लभ "चाप्लु" नाम गरेको फलको बोट रछ।

त्यो "चाप्लु"को बोट केवल तिनै महाराजको बगैंचामा मात्र थियो अनि फेरि त्यसमा लागेका फल पनि तिनै महाराजले मात्र भक्षण गर्ने चलन! अब प्रजालाई खुल्दुली पक्कै थियो, कस्तो न चै स्वाद होला नि त,ए बाबा हो! भनेर। सबै वनदाइ, वनभाइ, वनदिदी, वनबहिनीलाई आफू उदाएर बुझ्ने भएदेखि अस्ताउन्जेलसम्म त्यस्कै चासो हुन्थ्यो! प्रजामा एउटा हल्ला नि र'छ कि त्यो "चाप्लु" नाउँको फल अमृत तुल्य मीठो हुन्छ रे।

एकजना ठिटौलो वनदाइले ठानेछन् कि, कसै गरि यो नचाखी कहाँ छोडौँला र! बैँसको जोस,के चाहिन्थ्यो र अब! रातीको मौका पारी,राज बगैंचामा लुकिछिपी पसेर चाप्लुको बोट नजिक पुगेछन्। कस्ता भाग्यमानी न वनसेनाले देख्नु उनलाई! टपक्कै एउटा फल टिपेर दार्न मात्र के थालेका थिए, सारा मुख, जिब्रो, घाँटी क्वाक्कै... कोक्याउने गरिको अनि कहिँ नभाको कलबिख तितो न तितो पो रछ,तिनको सारा मुख बटारिएर कठै! कस्तो न अमृत ठानेर त्यत्रो आँटेर आएको विचरोलाई, चौटा खान गकि बुढी झोलमा डुबिन् भने जस्तै भयो। रन्थनिँदै "चाप्लु छि! है चाप्लु छि!छि!छि!" भन्दै हल्ला मच्चाउन पुगेछ्न् असह्री भएर । अब त वनसेनाले "चाप्लु छि!" भनेको हल्ला सुनेर बगैंचामा दौडेर पुग्दा त चोर भेटे, अझ "चाप्लु" को फल चोर्ने महाअपराधी!

ताडना दिँदै,लघार्दै आधारातमै राजाकहाँ ठिङ्ग्याए तिनलाई! त्यो चाप्लु फल जसले अघि हलाहल खाए जत्तिकै पारेको थियो अहिले वनदाइको जिब्रोमा मन्दमन्द मिठास पो छोड्न थाल्यो एक्कासि! वनराजाले कसूर थाहापाएसी रिसले कालो मुख ला'र भृकुटी खुम्च्याएका मात्र के थे, वनदाइ झ्याप्पै राजाका पाउमा लम्पसार परे! "मेरा प्रभु..." बाट सुरु गरेर मुखबाट अविरल अमृतवाणी वर्षाउन लागे, हजुर गजुर इत्यादि,तिमी त राज राजेश्वर यस्ता महान् ,टुप्पिदेखी कुर्क्च्चोसम्मको बखान गरिसक्दा त गाँठे, राजाको खुम्चिएको भृकुटी सोझिन थाल्यो, थुतुनो च्यातिएर कानसम्म पुगेर बडाबडा गिजाबाट पलाएका दाह्रा नि टल्किन थाले! यति भएसि अन्तिममा, "गल्ती भो प्रभु भन्दा" भए। ती  राजाले त,"आम्मै मेरो बाबू केहि छैन, अबदेखि नदोहोर्‍याएस्" भनी उल्टै त्यसबखतका प्रचलित मुद्रासहित बिदा पो गरे अनि!

सिपाहीँले राजा र वनदाइबिचको संवाद त सुनेनन्, तर त्यहाँका घटना देखेर चित खाए! अब प्रजामा सब हल्ला फैलियो अनि ती सिपाहीलाई सोधे कसैले, "हैन के चै भनो हौ,त्यस्तो अपराध गर्दा उल्टै इनाम पाउने गरि"? सिपाहिँले भने," अरु त था भएन राजाका मुखेन्जी ठिङ्ग्याउन अघि "चाप्लु चोरेर खाएछ अनि,चाप्लु छि... चाप्लु छि" भन्दै चिच्यायो ,"राजासँग नि त्यै त होला खै"! केही ठोस निर्क्यौल ननिस्केपछी विद्वान वनमान्छेहरु हुल बाँधेर ती वनदाइकहाँ पधारेर "चाप्लु छि" को भेद बुझ्दा भएछन्! त्यो भेद जन्मदै जानेर आउने मनुख्खे प्रशस्त हुन्छन् तर यो गोप्य इतिहास त विरलै थाहा होला कसैलाई!

तिनै वनदाइ जस्तै चाप्लुसी साधकका जिब्राँ तपाईंका कानलाई परमानन्द आभास गराउने तत्वको बास हुन्छ! तिनका हरेक वचन तपाइँका कानले हार्दिकताका साथ ग्रहण गर्छन! तपाईँको शरीर घ्याम्पो जस्तो छ भने उसले सारै खातेपिते देखिदिन्छ, तपाईं पिलन्धरे सिट्ठा हुनुहुन्छ भने उसले हृष्टपुष्ट देखिदिन्छ, तपाईं महालोभी हुनुहुन्छ भने उसले महाजतनिया देखिदिन्छ, तपाईं पगितो बोल्ने बानिको हुनुहुन्छ भने उसले वाक्पटु देखिदिन्छ, तपाईं बेस्सरी पगितो खान रुचाउने बानिको हुनुहुन्छ भने उसले भोजनप्रेमिको मधूर संज्ञा दिन्छ अनि तपाईंलाई बाङ्गा खुट्टा लाउदैँ नाच्न नि आउँदैन भने उसले हेर्नेका आँखा बाङ्गा हुन् भनिदिन्छ! खबरदार! अलि कमै सङ्गत गर्नुहोला चाप्लुसी साधकहरुको।

जमानामा पश्चिमा देशमा एक महाचाप्लुसिको जिब्रोबाट केही कोषिकाको स्याम्पल झिकेर एक वैज्ञानिकले जाच्ने भएछ्न्, अनि ति कोषिका माइक्रोसकोपमा राखेर भित्र हेर्न खोज्दा त ,"हौ ठूल्दाजु,आहा!कति राम्रा,बाटुला आँखा हौ तपाईंका"!                  

                  इतिश्री सङ्क्षिप्त चाप्लुसी रहस्यम् सम्पूर्णम!